काठमाडौं । मुलुकमा विद्यमान आर्थिक मन्दीको परिस्थितिमा नगद प्रवाहमा समस्या देखिएको परिप्रेक्ष्यमा सहकारी संस्थाहरूपनि अछुतो रहन सकेका छैनन् । कुनै सहकारी संस्था सर्वसाधारणको निक्षेप हजम गरेर भागेका छन् भने कुनै सहकारी संस्था ऋणीले ऋण तिर्न नआउँदा समस्यामा परेका छन् । यस्तै एउटा सहकारी संस्था समस्यामा परेका छन् । त्यो हो काठमाडौंको मखन टोलस्थित स्क्वायर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ ।
यो संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत राम्रै सेवा प्रवाह गरिरहेकोमा केही ऋणीहरूले ऋण लिएर समयमा नै नतिर्नाले सहकारी समस्यामा परेको उक्त सहकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सहकारीका अध्यक्ष वासुमान जोशीका अनुसार सामाजिक सम्बन्धका आधारमा ऋण प्रवाह गर्दा सहकारी समस्यामा पर्न गएको हो । अध्यक्ष जोशीले भने, “साथीभाइ भनेर सहजतापूर्वक ऋण प्रदान गरियो । अहिले ऋणको साँवाब्याज तिर्न अनाकानी गरिरहेका छन् । जसरी हिजो सामाजिक सम्बन्धका आधारमा ऋण लिएर गएका थिए । त्यस्तै सहज र सरलताका साथ ऋणको साँवाब्याज तिर्न पनि जारुकता देखाउन अनुरोध गर्न चाहन्छु ।”
उनले आफ्नो सहकारी सेवा नै धर्म हो भन्ने सिद्धान्तमा विश्वास गर्ने भएकाले ज–जसले विश्वासका आधारमा ऋण लिएर गएका छन् । त्यस्तै ऋण तिर्न सहज मार्ग अपनाउन आग्रह गरे । अध्यक्ष जोशीले सामाजिक सम्बन्धमा फाटो नल्याउन पनि सहकारीको बाँकीबक्यौता यथाशीघ्र बुझाउन जरुरी रहेको बताए ।
उनले आफ्नो संस्था भरसक कानुनी प्रक्रियाजस्तो जटिल उपायमा जान नपरोस भन्ने मान्यता राख्ने भएकाले संस्थाको समस्यालाई बुझेर सबै ऋणीहरूले विज्ञप्ति जारी गरेको मितिबाट छिट्टै ऋण तिर्न आनेछन् भन्ने विह्वास राखेको बताए ।
अध्यक्ष जोशीले सहकारीको उदारपना र सदाशयतालाई समयमै बुझेर सम्पूर्ण ऋणी साथीहरू यस संस्थाले कानुनी प्रक्रिया अवलम्बन गनर्् पूर्व नै बाँकी साँवाब्याज फरफारक गर्न आउने छन् भन्ने कुरामा दृढ विश्वास राख्दछ भन्ने कुरा बताए । उनले लामो समयसम्म पनि लिएका ऋण तिर्न नआएमा संस्था वाध्य भएर कानुनी प्रक्रियामा जाने चेतावनी पनि दिए ।
प्रकाशित मितिः २०८० साउन २३ मंगलबार
Comments