काठमाडौं । सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंक (एडीबी) बाट परियोजना सहायताको रूपमा तीन सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार्ने निर्णय गरेको छ ।
अस्ति मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज बिहीवार सार्वजनिक गर्दै सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यो जानकारी दिए।
यसैगरी भन्सार तथा लजिस्टिक्स सुधार कार्यक्रमअन्तर्गत एडीबीबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
बैठकले एमसीए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सबस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको प्रवक्ता शर्माले बताए ।
प्रकाशित मितिः २०८० असार २१ बिहिबार
Comments