काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा दोहोरो वृद्धि भएको छ । बुधबार २३ अंकले बढेको सेयर बजार बिहीबार ३२.३० अंकले बढेको हो । नेप्से परिसूचक १.७५ प्रतिशतले बढेर १८७७.३२ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ६४ वटा कम्पनीका ४४ लाख २२ हजार कित्ता शेयर एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको आठ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतका दरले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आज किसान लघुवित्त, सामुदायिक लघुवित्त र युनिक नेपाल लघुवित्तको शेयर झन्डै दुई प्रतिशतले बढेको छ । सर्वाधिक ट्रेडिङ उपसूचक ३.७१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशतले बढेको छ ।
प्रकाशित मितिः २०८० जेठ ०४ बिहिबार
Comments