काठमाडौं । केही दिनयता बढ्न थालेको शेयरबजारमा ब्रेक लागेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से सूचक आज ४१.०१ अंकले घटेर २१२७ विन्दुमा कायम भएको छ ।
माघ १३ गते विराटनगरका प्रेम प्रसाद आचार्यले आत्मदाह गरेसँगै व्यवसायीहरुले नेपाली बैंक तथा वित्तीय क्षेत्रको घोर विरोध गरेका छन् । बैंकिङ्ग प्रणालीको सिस्टम चेन्ज गर्न र ब्याजदर घटाएर १ अंकमा ल्याउनुपर्ने भन्दै आज विभिन्न व्यापार तथा उद्योगी संघहरुले आन्दोलन गरेका छन् । यसैको प्रभावले आजको शेयरमार्केटमा ठूलो प्रभाव पर्न गएको छ ।
नेप्सेमा सूचीकृत २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजारमा पहिरो गएतापनि आज लगानीकर्ताहरुले अघिल्ला दिनहरुमा शेयरबजार बढ्दा नाफा बुक गरेका कारण कारोबार सन्तोषजनक देखिएको हो ।
त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक होटल तथा पर्यटन सूचकको ३.६१ प्रतिशतले घटेको छ । त्यस्तै, वित्त सूचकको पनि ३.४२ प्रतिशतले घट्न पुगेको छ ।
प्रकाशित मितिः २०७९ माघ १६ सोमबार
Comments