काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ४ महिनाको अवधिमा २ करोड ३५ लाख रूपैयाँ बराबरको फुटबल, भलिबल र बास्केटबल आयात भएको छ । भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको बल भित्रिएको हो ।
विभागको तथ्यांकमा फुटबल, भलिबल र बास्केटबल लगायत सम्पूर्ण हावा भर्ने बलहरू एउटै एचएस कोडमा राखिएको छ । तथ्यांकअनुसार यस अवधिमा १ लाख ३६ हजार वटा बल भित्रिएका छन् ।
यसबापत आयातकर्ताले सरकारलाई ५८ लाख २४ हजार रुपैयाँ बराबरको राजश्व बुझाएका छन् । गत आर्थिक वर्ष २०७८/८९ मा विदेशबाट साढे ८ करोड रुपैयाँ बराबरको यस्ता बल भित्रिएका थिए ।
यस्तै, यस अवधिमा १ लाख ८१ हजार रुपैयाँको गल्फ बल र ७ लाख ७८ हजार रुपैयाँ बराबरको टेनिस बल भित्रिएको छ । यसैगरी, यही अवधिमा ३ करोड ५८ लाख रुपैयाँ बराबरको टेनिस र गल्फ लगायत क्रिकेट बल एकमुष्टरूपमा भित्रिएको तथ्यांक छ ।
प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार
Comments