काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एसियन पेन्ट्स नेपालको गोदाममा छापा मारेर करोडौं रूपैयाँ बराबरको हजारौं डब्बा गुणस्तरहीन रङ बरामद गरेको छ ।
विभागले शुक्रबार काठमाडौंको सतुङ्गल र ललितपुरको बालकुमारीस्थित कम्पनीको गोदाममा छापा मारेर बजार पठाउन तयारी अवस्थामा राखिएको करिब २ करोड रूपैयाँबराबरको ८ हजार वटाभन्दा बढी डब्बा बरामद गरेको हो ।
विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार नियमित बजार अनुगमनका क्रममा एसियन पेन्टस्को रङका डब्बामा मूल्य र मिति स्क्र्याच गरेको भेटिएपछि अनुसन्धान गर्दै जाँदा गोदाममा ठूलो परिमाणमा गुणस्तरहिन रङ फेला परेको थियो । ठाउँ ठाउँका खुद्रा रङ पसलमा एसियन पेन्ट्सको रङका डब्बामा कैफियत फेला परेपछि विभाग तातिएको थियो ।
शुरूमा एकदुई ठाउँमा मात्र हो कि भनेर सामान्यरूपमा लिएको विभागले थप पसलमा अनुगमन गर्दा सबैतिर त्यस्तै प्रकारका डब्बा फेला पारेपछि अनुसन्धानमा जुटेको थियो । गुणस्तरहीन एवम् रिलेबरिङ गरेका रङ कहाँबाट आयो भनेर सोधपुछ गर्दा कम्पनीबाटै यस्तै रङ आएको सबै पसलेले जवाफ दिएपछि विभागको टोलीले एकैपटक कम्पनीका दुई गोदाममा छापा मारेको स्रोतले बतायो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
Comments