काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र नयाँ कमोडिटी एक्सचेन्ज सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थागित गरेको छ । बोर्डले सूचना जारी गर्दै सोको जानकारी गराएको छ । सर्वोच्च अदालतबाट अल्पकालीन आन्तरिम आदेश जारी भएकाले आवेदन लिने लगायतका थप काम कारवाहिहरु अर्को निर्णय नहुँदासम्म रोक्ने निर्णय गरेको हो । बोर्डले गत असोज २ गतेबाट नयाँ लाइसेन्सका लागि आवेदन खुला गरेको थियो ।
बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सोहीअनुसार धितोपत्र बोर्डले लाइसेन्स प्रक्रिया स्थगित गर्ने निणर्य गरेको हो । नयाँ ब्रोकरको लागि ४५ कम्पनीले आवेदन दिएका छन् । यसमा आवेदन दिने समय पनि सकिएको छ ।
यता, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि अवेदन दिने आज कात्तिक १५ गते अन्तिम दिन हो । आजदेखि बोर्डले आवेदन लिने प्रक्रिया रोकेको छ । हिजो सोमबारसम्म नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि कुनै आवेदन नपरेको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए ।
प्रकाशित मितिः २०७९ कार्तिक १५ मंगलबार
Comments