काठमाडौं । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालका मैदा उद्योगहरु संकटोन्मुख भएपछि सरकारले गहुँ आयातका लागि प्रक्रिया अघि बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँ आयातका लागि परराष्ट्रमार्फत भारतलाई पत्र पठाउने तयारी गरेको छ ।
नेपाल मैदा उद्योग संघको एक प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटवार्तामा मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले गहुँ आयातका लागि भारतलाई औपचारिक आग्रह गर्न लागिएको जानकारी दिए । भारतीय दूतावासले पनि नेपाललाई आवश्यक पर्ने गहुँ दिनका लागि सकारात्मक प्रतिक्रिया दिइसकेको छ । नेपाल मैदा उद्योग संघका महासचिव राधेश्याम अग्रवालका अनुसार प्रक्रिया छिटो अघि बढेमा अबको १५ देखि २० दिनमा नेपालमा भारतबाट गहुँ आयात हुनेछ । ‘गहुँ आयातमा सरकारले सकारात्मक कदम चालेको पाएका छौं’ उनले भने ।
विश्वमा चीनपछि गहुँको धेरै उत्पादन गर्ने दोस्रो मुलुक भारत हो । भारतले बढ्दो महँगी र खाद्य सुरक्षालाई ध्यान दिँदै वैशाख ३० गतेदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । यद्यपी केही मुलुकहरुलाई गहुँ निर्यातका लागि कोटा खोल्ने तयारी गरिरहेको छ ।नेपाल मैदा उद्योग संघका अनुसार नेपालमा यो वर्ष करिब १० लाख टन गहुँ आवश्यक पर्दछ । यसमध्ये ३।५ लाख टन आन्तरिक उत्पादन हुने गरेको छ भने बाँकी ६.५ लाख टन गहुँ आयात गर्नुपर्ने बाध्यता छ । भारतले आफ्नो मुलुकमा भएको खपतपछि वार्षिक करिब ७० लाख टन गहुँ निर्यात गर्ने गरेको छ ।
प्रकाशित मितिः २०७९ भदौ ०९ बिहिबार
Comments