काठमाडौं । तीज नजिकिँदै गर्दा सुनको माग बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साउन महिनामा सुनको कारोबार खासै नभएपनि भदौ लागेयता निरन्तर वृद्धि हुँदै गएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भदौ महिनामा सुनचाँदीको कारोबारमा विस्तारै बढ्दै गएको बताए । अध्यक्ष शाक्यले आर्थिकन्युज डटकमसँग भने, ‘भदौ महिना लागेसँगै तीजको चहलपहल शुरु हुन्छ । तीजको बेलामा सुनको कारोबार धेरै हुने गर्छ । यसले गर्दा अहिले सुनको कारोबार बढेको छ ।’
सुनको कारोबार अहिले अझै वृद्धि हुने क्रम रहेको शाक्यले बताए । ‘अहिले बजारमा सुनको माग दिन प्रतिदिन बढ्दै गएको छ,’ उनले भने ‘गत साउन महिनामा दैनिक १० देखि १५ केजीको हाराहारीमा सुनको खपत भएको थियो । तर, अहिले भदौ महिना शुरु भएसँगै दैनिक २५ देखि ३० केजीसम्म सुनको कारोबार भइरहेको छ ।’
उनलका अनुसार तीज नजिकिएसंगै बढेको व्यापार केहि महिनासम्म बढ्दो क्रममा रहने देखिन्छ । तीज सकिएपछि दशैं तिहारका लागि पनि महिलाहरुले सुनचाँदीको गरगहना सामान खरिद गर्ने गर्छन् । तिहार पनि मंसिर महिना आउने भएकोले त्यस महिना विवाहको सिजन भएकोले सुनचाँदीको व्यापार राम्रो हुने गर्छ ।
अध्यक्ष शाक्यले पहिले नै व्यवसायीहरुले तयार बनाएर राखेको नयाँ–नयाँ डिजाइनका गरगहनाले अहिले मागको केही हिस्सा धानेको उनले बताए । ‘पछिल्ला दिनहरुमा रेडिमेड गरगहना पर्याप्त बिक्री हुने गरेको छ, पहिले नै व्यवसायीले किनेर रिफाइन गरेर तयार गरेका गहना यतिबेला बेच्ने गर्छन्, जसले गर्दा मागको केहि हदसम्म आपूर्ति धान्न सकिएको छ ।’
तर, अहिलेको अवस्थामा १० केजी मात्रै सुन पाउँदा व्यवसायीको व्यापारमा असर परेको उनले गुनासो गरे । ‘अहिले दैनि माग २५ केजीभन्दा धेरै रहेको छ तर, व्यवसायीहरुले १० केजी मात्रै पाउँदै आएका छन् । यसले गर्दा हामीलाई बजारमा माग अनुसार सुन पाउनु पर्ने हो’, उनले भने ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७९ साउन ०७ मंगलबार
Comments