काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भोलि (मंगलबार) हुने भएको छ । आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा हुनेछ । बाँडफाँड कार्यक्रम बिहान ८ः३० बजे राखिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले गत असार १५ गतेदेखि असार १९ गतेसम्म आईपीओ बिक्री गरेको थियो । कम्पनीले १०० अंकित दरका कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ जारी गरेको थियो ।
जसमा पहिलो चरणमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेकोमा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता पनि जोडिएको थियो ।
कुल कित्तामध्ये ३९ हजार ३६५ कित्ता (२ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ९८ हजार ४१३ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । बाँकी १८ लाख ३० हजार ४७२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
यो आईपीओमा निष्कासनको अन्तिम दिनसम्म १६ लाख ३ हजार ९७५ आवेदकबाट कुल १ करोड ७९ लाख ७ हजार १९४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ९.७८ गुणा बढी हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार भाग्यमानी १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । तिनैमध्ये भाग्यमानी २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् ।
प्रकाशित मितिः २०७९ असार २७ सोमबार
Comments