काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालबाट २९ करोड ६७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार नेपालबाट २०७८ साउनदेखि २०७९ जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट ४ सय ७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागले जनाएको छ । यसरी नेपालबाट निर्यात हुने यार्सागुम्बा विश्वका ११ वटा देशमा जाने गरेको छ । जसमध्ये कम्बोडियामा सबैभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको तथ्याङ्कले देखाउँछ ।
कम्बोडियामा नेपालबाट २० करोड २ लाख ४६ हजार रुपैयाँ बराबरको ३०५ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ ।
यसपछि, हङकङमा ३ करोड ९३ लाख रुपैयाँको ६८ किलो यार्सागुम्बा निर्यात भएको छ भने फ्रान्समा ६२ लाख २१ हजार रुपैयाँ बराबरको ११ किलोग्राम यार्सागुम्बा निर्यात भएको देखिन्छ ।
यसपछि, कोरिया, रसिया, सिंगापुर, थाइल्याण्ड, युक्रेन, बेलायत, अमेरिका र भियतनाम लगायतका देशमा समेत यार्सागुम्बा जाने गरेको छ ।
प्रकाशित मितिः २०७९ असार २७ सोमबार
Comments