काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ ।
बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१ डलरमा झरेको हो । गत जेठ १७ गते प्रतिब्यारेल १२४ डलरसम्म परेको थियो । त्यस्तै डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ९८ डलरमा झरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
कच्चा तेलको मागमा सुस्तता आएसँगै भाउ घट्न थालेको विश्लेषण गरिएको छ । २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने सम्भावना रहेको बताइएको छ । तेल उत्पादक सङ्घ ओपेकको हस्तक्षेप नहुनु र लगानीमा आकर्षण घट्नुले मूल्यमा कमी आउने अमेरिकी बहुराष्ट्रिय लगानी बैङ्क सिटी ग्रुपले उल्लेख गरेको छ ।
रुसले युक्रेनमा आक्रमण गरेसँगै यूरोपियन मुलुकहरुले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य बढेको थियो । पछिल्लो समय चीन, भारत लगायत मुलुकले रुसबाट सस्तो दरमा तेल खरिद गरिरहेका छन् ।
प्रकाशित मितिः २०७९ असार २३ बिहीबार
Comments