सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत आयोजनामा नेपाल इफ्रास्ट्रक्छर बैंकको अगुवाइमा ४ बैंकले झण्डै ६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । शैलुङ पावर कम्पनीले अघि बढाएको आयोजनामा नेपाल इनफ्रास्ट्रक्चर बैंकको अगुवाईमा सेञ्चुरी, माछापुच्छ्रे र राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
आयोजनाको प्रवर्द्र्धक कम्पनी र बैंकहरूबीच बिहीबार सहवित्तीयकरणमा ऋण लगानी गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौता अनुसार नेपाल इनफ्रास्ट्रक्चरले आयोजनामा २ अर्ब रुपैयाँ, सेन्चुरी र माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड का दरले ३ अर्ब रुपैयाँ लगानी गर्ने भएका छ् । त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकले ९५ करोड रुपैयाँ ऋण लगानी सम्झौता पत्रमा उल्लेख छ ।
यो ऋण लगानी आयोजनाको कुल लागतको ७५ प्रतिशत रकम हो । बाँकी २५ प्रतिशत रकम प्रवर्द्धकहरुले स्वपूँजी(इक्वीटी) लगाउने छन् । स्वपूँजी जुटाउन स्थानीय र सर्वसाधारणलाई समेत सेयर विक्री गरिने छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १, ३, ४ र ५ नम्बर वडामा आयोजनाको संरचना रहेने भएको छ । आयोजना ३ वर्षमा निर्माण गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य छ ।
प्रकाशित मितिः २०७९ जेठ २० शुक्रबार
Comments