काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आज (चैत २५ गते) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्दै छ। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.३९३६ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद निष्कासनका लागि कम्पनीले चैत १४ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो।
यसअनुसार चैत १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोसेयर सफ्टवेयर मार्फत २०७९ बैशाख १५ गतेसम्म आवेदन दिन पाउनेछन्।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी बीप्लस आईएस रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ। हाल २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ।
प्रकाशित मितिः २०७८ चैत २५ शुक्रबार
Comments