काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा करिब २ प्रतिशतको गिरावट भएको छ । केही सातायता २५ सयको विन्दुमा सपोर्ट पाएर घटबढ भइरहेको नेप्से सोमबार उक्त सपोर्ट विन्दुबाट तल झरेर बन्द भएको थियो ।
आज सुरुवातबाटै ओरालो लाग्ने क्रममा रहेको नेप्से १.८६ प्रतिशतले गिरावट भएर बन्द भएको छ । मंगलबरार बजार परिसूचक ४६.४६ अंकले गिरावट भएर २४५२.०६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको छ ।
आइतबार र सोमबार डेढ अर्बनजिक रहेको कारोबार रकम आज बढेर दुई अर्ब ६७ करोड पुगेको छ । आज हिमालयन डिस्टिलरीको साढे नौ करोडमाथिको कारोबार हुँदा नबिल बैंकको साढे आठ करोडभन्दा माथि र नेपाल लाइफको आठ करोडभन्दा माथिको कारोबार भएको छ ।
आज बजारमा कुल १९५ कम्पनीको सेयर कारोबार हुँदा १८३ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने १० कम्पनीको बढेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
कारोबारमा आएका मध्ये राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा जालपा सामुदायिक लघुवित्तको ६.०७ प्रतिशतले बढेको छ ।
इमर्जिङ नेपालको सेयर मूल्य घटेर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा नारायणी डेभलपमेन्ट बैंकको ६.३७ प्रतिशत र युनाइटेड इर्दी मार्दी एन्ड आरबी कम्पनीको ६.०१ प्रतिशतले घटेको छ ।
प्रकाशित मितिः २०७८ चैत २२ मंगलबार
Comments