काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (चैत २१ गते) अन्तिम दिन रहेको छ। चैत १६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ।
सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझसम्ममा करिब १८ लाख ७१ हजार आवेदनबाट २ अर्ब १२ करोड रुपैयाँ बराबरको १ करोड १२ कित्ता शेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १६ लाख ६३ हजार ४५३ कित्ताको करिब १३ गुणा बढी हुन आउँछ ।
प्रकाशित मितिः २०७८ चैत २१ सोमबार
Comments