गर्भावस्थामा आमाले फोलिक एसिड खाँदा बच्चालाई पनि फाइदा

0

काठमाडौं । गर्भावस्थाको योजना बनाइरहेका वा गर्भवती भइसकेका महिलाले खानपानमा विशेष ध्यान दिनुपर्छ । यस्तो बेला महिलालाई सामान्य अवस्थामा भन्दा बढी भिटामिन र खनिज चाहिन्छ । त्यसैले प्रत्येक महिलालाई गर्भावस्थाको समयमा फोलिक एसिड लिन सल्लाह दिइन्छ ।

फोलिक एसिड महत्त्वपूर्ण पोषक तत्त्व हो, यसलाई बी–भिटामिन र फोलेट पनि भनिन्छ । फोलिक एसिड हाम्रो शरीरका लागि धेरै महत्त्वपूर्ण छ । यो एसिड हाम्रो शरीरमा कोषिकाहरुको वृद्धिका लागि आवश्यक हुन्छ ।

गर्भावस्थामा फोलिक एसिड किन जरुरी ?

फोलेट तथा फोलिक एसिड भिटामिन बी ९ का प्रकार हो । जुन बच्चाको मस्तिष्क र मेरुदण्ड विकासका लागि चाहिन्छ । त्यसैले गर्भावस्थाको योजना बनाइरहेका र गर्भवती महिलालाई फोलिक एसिड खाने सल्लाह दिइन्छ ।

१२ हप्तामा गर्भमा रहेको बच्चाको मेरुदण्डको विकास हुन्छ । त्यसैले गर्भावस्थाको १२ हप्तासम्म गर्भवतीले फोलिक एसिड खाइन् भने फोलिक एसिड पाएर मेरुदण्डको विकासमा सहयोग पुग्छ । साथै शरीरले स्वस्थ नयाँ कोषिकाहरु बनाउन र डीएनए संश्लेषण र मर्मत गर्न फोलिक एसिड चाहिन्छ । शरीरले रातो रक्त कोषिकासहित नयाँ कोषिकाहरु बनाउन फोलिक एसिड प्रयोग गर्छ ।

फोलिक एसिड विभिन्न फल, तरकारी, नट र अन्नहरूमा पाइन्छ । तर अहिले हामीले खाइरहेको खानेकुराहरू प्रशोधित भएकाले ती खानाबाट शरीरलाई आवश्यक पर्ने भिटामिन मिनरल्सहरु प्राप्त भएको हुँदैन । त्यसैले पूरकको रूपमा गर्भवतीलाई फोलिक एसिड खाने सल्लाह दिइएको हो ।

कहिलेबाट खाने, कति मात्रामा खाने ?

कसैले गर्भावस्थाको योजना बनाइरहेका छन् भने गर्भ रहनु भन्दा दुई महिनाअघिबाट यसको सेवन सुरु गर्नुपर्छ । पाँच एमजी फोलिक एसिड दैनिक एक पटक खानापछि खान सकिन्छ । १२ हप्तासम्म यसलाई नियमित रूपमा खानुपर्छ ।

कुनै गर्भवती महिलाले फोलिक एसिड खान छुटाएमा त्यही समयबाट खान पनि सक्छन् । यो भिटामिनलाई चिकित्सकको सल्लाहअनुसार खानु राम्रो हुन्छ ।

फोलिक एसिड खान छुटे हुन सक्ने जोखिम

बच्चालाई चाहिने जति प्राय: सबै प्रकारका पोषक तत्त्व बच्चाले आमाबाट नै पाउँछ । तर यदि केही कारणवश आमाको शरीरमा फोलिक एसिड एकदमै कम छ भने बच्चामा ओठ तथा च्यापु काटिने, मुटुसम्बन्धी समस्या र ‘स्पाइना बिफिडा’ मेरुदण्डको विकासमा समस्या लगायत समस्या देखा पर्न सक्छ । त्यसैले गर्भावस्थाका महिलाले फोलिक एसिड खानु बच्चाको स्वास्थ्यको लागि राम्रो हुन्छ ।

गर्भावस्थाबाहेक पनि फोलिक एसिड खान सकिन्छ

शरीरलाई हरेक दिन विभिन्न किसिमका पोषक तत्त्वको आवश्यकता पर्छ । विभिन्न पोषक तत्त्वहरूको काम शरीरमा विभिन्न काम ठीकसँग पूरा गर्नु हो । यदि यीमध्ये कुनै पनि पोषक तत्त्वको कमी भयो भने हाम्रो स्वास्थ्यमा विभिन्न समस्या निम्तिन सक्छ । त्यसैले गर्भावस्थामा मात्र होइन, वृद्धावस्थामा पनि पोषक तत्त्वको कमी नहोस् भनेर मल्टिभिटामिन दिन सकिन्छ । जसमा फोलिक एसिड पनि समावेश हुन्छ ।

प्रकाशित मितिः २०८० भदौ २९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments