एजेन्सी ७ बैशाख । जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी छन्। नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उनले जनाएकी हुन्।
एसियाका उद्यमशील महिला सहकर्मी समाजले ४१ वर्षदेखि आयोजना गर्दै आएको एक दिवसीय च्यारिटी मेलामा प्रमुख अतिथिका रुपमा उपस्थित भएकी राजकुमारी हिताचीले कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालसंग नेपाल र नेपालीको शीर उच्च रहेको भन्दै प्रशंसा गरिन्। राजधानी टोकियो महानगरपालिकाको आकासाकास्थित इन्टरनेसनल होटलमा आयोजित एक मेलामा दौरा सुरुवाल र ढाका टोपी लगाएका नेपाली देखेर उनले नमस्ते अभिवादन गरिन्। २६ राष्ट्रका राजदूत र अधिकारीका बीचमा नेपालीप्रतिको विश्वास कुनै शब्दमा व्यक्त गर्न नसकिने उनले बताइन्।
हिताचीले स्टलमा राखिएका नेपालीले बनाएका विभिन्न कलाका वस्तु, लत्ताकपडा, चिया तथा खानाको निरीक्षण गरिन्। नेपाली स्टलमा राखिएका सामग्री तथा विभिन्न वस्तुको अवलोकनपछि हस्तकलाका सामग्रीका कला र निर्मित वस्तुको अवस्थाबारे जानकारी गराइएको कार्यवाहक राजदूत अर्यालले बताए। अर्यालका अनुसार अवलोकनपछि राजकुमारी हिताचीले दुई शताब्दीअघि नेपालको राजकीय भ्रमणका क्रममा पोखराको पर्यटकीयस्थल, प्राचीन काठमाडौं र प्यागोडा शैलीमा निर्मित मन्दिर र गौतम बुद्धको जन्मस्थल लुम्बिनीको स्मरण गर्दै हाल कस्तो अवस्थामा छन्? भनी जिज्ञासा राखेकी थिइन्।
सो अवसरमा नेपाली कार्यवाहक राजदूत अर्यालले राजकुमारीलाई मायाको चिनोस्वरुप चाँदीको करुवा प्रदान गरेका थिए। मेलामा अन्य स्टलमध्ये ममता रहेको भन्दै नेपाली चाँदीको गहना खरिद गरिन् । ५० भन्दा बढी स्टलमध्ये नेपाली राजदूतावासका तर्फबाट हस्तकला सामग्रीअन्तर्गतका पश्मिना, नेपाली चिया र खानासहितका दुई स्टल मेलामा राखिएको थियो । नेपाली स्टलमा राखिएका हस्तकलाका सामग्रीअन्तर्गत पस्मिनामा सजाइएका वस्तु र चाँदीका गहनामा राजकुमारी हिताची आकर्षित देखिइन्। अवलोकनका क्रममा नेपाली हस्तकलाका सामानमा विशेष चासो राखेकी राजकुमारी हिताचीले नेपाली आस्थालाई अन्य राष्ट्रले पनि अनुशरण गर्नुपर्नेसमेत बताएकी थिइन्। मेलामा नेपाली सामग्रीको ५० हजारभन्दा बढीले अध्ययन अवलोकन गरेको बताइएको छ ।
Comments