अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् ।
थप १३ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ४२ पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले पत्रकार सम्मेलनमा बताएका छन् । यसअघि २९ व्यक्तिको मृत्यु भएको बताइएको थियो ।
अमेरिकी सञ्चार माध्यमहरुले विभिन्न स्रोत उल्लेख गरी अझ २०० भन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाएका छन् । बेपत्ता व्यक्तिहरुको खोजी, उद्धार र आगो निभाउने कार्यमा करिब आठ हजार अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ ।
डढेलो लागेको जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ ।
प्रकाशित मितिः २०७५ कार्तिक २७ मंगलबार
Comments