काठमाडौं ३ साउन । टर्कीमा लगाइएको संकटकाल हटेको छ । कू प्रयासपछि लगाइएको संकटकाल २ बर्षपछि हटाइएको हो । राष्ट्रपतिमा रिसेप तैयप एर्दोगान पुनः निर्वाचित भएको एक सातापछि संकटकाल अन्त्यको घोषणा गरेका बीबीसीले जनाएको छ ।
असफल कू पछि सन् २०१६ बाट टर्कीमा संकटकाल लगाइएको थियो । निर्वाचनका बेला विपक्षी पार्टीले समेत संकटकाल हटाउने मुख्य एजेण्डा अघि सारेका थिए । सात पटकसम्म ३३ महिनाका लागि संकटकालको अवधि थप्दै आएको टर्की सरकारले यसपटक भने संकटकाल अन्त्यको घोषणा गरेको हो ।
संकटकाल लगाएयता टर्कीमा गरिएको कू प्रयासमा संलग्न रहेको आरोपमा सरकारी कर्मचारी, सेना तथा प्रहरीका अधिकारी, शिक्षक, पत्रकार लगायत हजारौंलाई पक्राउ गरिएको छ । गैरसरकारी संस्थाको तथ्याङक अनुसार टर्की सरकारले एक लाख सात हजार भन्दा बढी सरकारी कर्मचारीलाई कामबाट हटाएको छ भने ५० हजार बढी कर्मचारीमाथि मुद्दा दायर गरेको छ । सन् २०१६ मा भएको कू प्रयासका क्रममा २ सय ५० भन्दा बढीको ज्यान गएको थियो ।
Comments