काठमाडौं । गायक दुर्गेश थापाले विवादित ‘तिहार गीत’ यूट्यूबबाट हटाएका छन् । उनले ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत यूट्यूबबाट हटाएका हुन् । गीतले सामाजिक मर्यादा भुलेको भन्दै उजुरी परेपछि थापालाई प्रहरीले पक्राउ गरेको केही समयपछि गीत हटाएका हुन् ।
थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिल्ला प्रशासन कार्यालयले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा हिजो महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको थियो । गीत हटाएपछि दुर्गेश थापा छुटेका थिए ।
‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट चर्चामा आएका थापा यसअघि चलचित्र ‘छ माया छपक्कै’ को प्रवर्द्धनात्मक गीत गाउँदा समेत विवादमा मुछिएका थिए । थापाको च्यानलबाट गीत हटे पनि अन्य व्यक्तिहरुले कपि गरेर यूट्यूबमा राखेका छन् ।
प्रकाशित मितिः २०७६ कार्तिक ६ बुधबार
Comments