काठमाडौं । फर्मुला वानका विश्व विजेता लेविस ह्यामिल्टनले बिबिसी पर्सनालिटी अफ द इयर २०२० को अवार्ड हात पारेका छन् । फर्मुला वानका सर्वोत्कृष्ट ड्राइभरमध्ये एक ह्यामिल्टनले यो वर्ष लगातार चौथो पटक फर्मुला वानको विश्व च्याम्पियन बन्दै महान् ड्राइभर माइकल सुमाकरको कीर्तिमान बराबरी गरेका थिए । दुवै ७–७ पटक विश्व च्याम्पियन बनेका छन् ।
बेलायतका ३५ वर्षीय ह्यामिल्टनले जर्मनीका सुमाकरको ९१ ग्रान्ड पिक्स उपाधिको रेकर्डलाई पनि भङ्ग गरेका छन् । उनले ९५ ग्रान्ड पिक्स उपाधि हात पारेका छन् । बिबिसीको मत सर्वेक्षणलाई आधार मानेर प्रदान गरिने यो अवार्डमा इङ्लिस क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसन दोस्रो र घोडचढी खेलाडी होली डोली तेस्रो स्थानमा रहिन् ।
यो अवार्डका लागि बक्सर टाइसन फुरे, इङ्ल्यान्डका क्रिकेटर स्टुअर्ट वोर्ड, स्नुकरका रोनी ओ सुलिभान पनि मनोनयनमा परेका थिए । ह्यामिल्टनले सन् २०१४ मा पनि यो अवार्ड हात पारेका थिए । गत वर्ष इङ्ल्यान्डका क्रिकेटर वेन स्टोकले यो अवार्ड हात पार्दा उनी दोस्रो स्थानमा थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ पौष ०६ सोमबार
Comments