काठमाडौं । युरोपा लिग फुटबलको क्वाटरफाइनलमा आज सोमबार इन्टर मिलानले बायर लेवरकुसनसँग प्रतिस्पर्धा गर्दैछ । जर्मनीको डुसेलड्रोफमा इटालियन क्लब इन्टरले जर्मन क्लब लेवरकुसनसँग खेल्न लागेको हो । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
मेर्कुर एरिनामा दुवै टिम जित निकाल्दै अन्तिम चारमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
जर्मन क्लबको तुलनामा इन्टरले यस सिजन उत्कृष्ट खेलिरहेको छ । सिरी ए लिगमा दोस्रो स्थानमा रहेको इन्टर उत्कृष्ट लयलाई कायम गर्ने लक्ष्यमा हुनेछ ।
हालै इन्टरले म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस सान्चेजलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ । सान्चेजसँगै रोमेरो लुकाकुले इन्टरका लागि उत्कृष्ट खेलिरहेका छन् । दुई फरवार्डलाई रोक्न लेवरकुसनका डिफेन्डरलाई निकै कठिन हुनेछ ।
यता, लेवरकुसन पनि इन्टरलाई स्तब्ध बनाएर सेमिफाइनलमा पुग्न चाहन्छ । बुन्डेसलिगामा यस सिजन उत्कृष्ट खेलेको लेवरकुसनलाई काइ हाभर्ट्जको भूमिका महत्वपूर्ण हुनेछ ।
ट्रान्सफर विन्डोमा सर्वाधिक चर्चामा रहेका विंगरसँग इन्टरको डिफेन्स लाइन चिर्न सक्ने क्षमता रहेको छ । जर्मन विंगर हाभर्ट्ज पछिल्लो समय चेल्सीसँग जोडिएका छन् । इन्टरले अन्तिम १६ को खेलमा स्पेनिस क्लब गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको थियो । लेवरकुसनले रेन्जर्सलाई समग्रमा ४-१ ले हराएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन २६ सोमबार
Comments