काठमाडौं । कोरोना भाइरस महामारीका कारण स्थगित भएको इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको टेस्ट सिरिजको पहिलो खेल बुधबारबाट साउथ ह्यामटनस्थित रोज बाउल क्रिकेट मैदानमा सुरु हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
तीन खेलको सिरिजको पहिलो टेस्ट खेलसँगै क्रिकेटका दुई महारथी टोलीले अन्तर्राष्ट्रिय क्रिकेटको एक असामान्य स्थितिलाई स्वीकार्दै सुरु गर्नेछन् । प्रतियोगिताका दौरान मैदानमा समर्थकलाई प्रवेश अनुमति दिइएको छैन ।
रोज बाउलमा इंग्ल्यान्डले हालसम्म कुनै पनि टेस्ट खेल हारेको छैन । उक्त मैदानमा इंग्ल्यान्डले तीन टेस्ट खेलेको छ । जसमा दुई खेलमा जित र एक ड्र भएको छ । रिपोर्टका अनुसार साउथ ह्यामटनमा टसले महत्त्वपूर्ण भूमिका खेल्छ र तीनवटै खेलमा इंग्ल्यान्डले टस जितेको छ । यस मैदानमा टस जित्ने टिमले सम्भवतः बलिङ रोज्नेछन् र स्लो मैदानको फाइदा उठाउनेछन् ।
रोज बाउलको पिचलाई परम्परागत रूपमा स्पिन बलिङका लागि उपयोगी मान्ने गरिन्छ । यस मैदानमा इंग्ल्यान्डले अन्तिम समय २०१८ मा भारतसँगको पाँच खेलको टेस्ट सिरिजको चौथो खेल खेलेको थियो । उक्त खेल इंग्ल्यान्डले ६० रनले जितेको थियो ।
प्रकाशित मितिः२०७७ असार २३ मंगलबार
Comments