इलाम । इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको पहिलो सेमिफाइनल खेल आज (बुधबार) हुँदैछ । इलामको टुँडिखेलमा हुने सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र मानेभञ्ज्याङ एफसी दार्जिलिङ भिड्ने छन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई बीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्रले क्वाटरफाइनलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै मानेभञ्ज्याङ एफसीले झापा-११ लाई २-१ ले स्तब्ध बनाएको थियो । मछिन्द्र र मानेभञ्ज्याङबीचको विजेताले आयोजक माईभ्याली र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।
१० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।
प्रकाशित मितिः २०७६ फागुन २१ बुधबार
Comments