काठमाडौं । रियाल सोसिडाडले गए राति घरेलु मैदानमा भ्यालेन्सियामाथि ३–० को जित हासिल गर्दै कम्तिमा २४ घण्टाका लागि स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ।
जितपछि सोसिडाडले २४ खेलमा ४० अंक जोड्दै समान अंक जोडेका एट्लेटिको मड्रिड र सेभियालाई पछि पार्दै चौथो स्थानमा उक्लियो। एट्लेटिको पाँचौं तथा सेभिया छैटौं स्थानमा झरेका छन्।
एट्लेटिकोले आज राति भिलारियाललाई घरेलु मैदानमा निम्त्याउँदा सेभियाले गेटाफेको भ्रमण गर्नेछ। आज रातिको खेलमा एट्लेटिको वा सेभियाले अंक थप्न सके सोसिडाड चौथो स्थानबाट तल झर्नेछ।
सोसिडाडलाई गएराति जित दिलाउन मिकेल मेरिनोले १२औं मिनेटमा खोलेको खातामा नाचो मोनरियलले मध्यान्तर हुनै लाग्दा गोल थपेका थिए। अदनान जानुजाजले ४८औं मिनेटमा अर्को गोल गरेपछि सोसिडाडको जित थप फराकिलो बनेको थियो।
स्पेनिस ला लिगामा गए राति नै सम्पन्न अन्य खेलमा रियाल बेटिस र रियाल मायोर्काले ३–३ को बराबरी नतिजा निकाले भने सेल्टा भिगोले लेगानेसमाथि १–० को जित दर्ता गरायो।
प्रकाशित मितिः २०७६ फागुन ११ आइतबार
Comments