काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत हुने कुस्ती प्रतियोगितामा ५५ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । बिभिन्न ५ देशका २४ महिलासहित ५५ खेलाडीले सहभागिता जनाउने भएका हुन् ।
आगामी मंसिर २० गतेदेखि जकपुरधाममा हुने कुस्ती प्रतियोगितामा भुटान र माल्दिभ्सले भने अहिलेसम्म खेलाडीहरुको नामावली पठाएका छैनन् । ‘अहिलेसम्म भुटान र माल्दिभ्सले कुस्ती खेलका खेलाडीहरुको नामावली पठाएका छैनन्,’ जिल्ला खेलकुद विकास समिति धनुषाका प्रमुख कमलकिशोर चौधरीले भने, ‘अहिलेसम्म सार्क अन्तर्गतको सात देशमध्ये पाँच देशका खेलाडीले मात्रै कुस्तीमा सहभागिता जनाउने अवस्था देखिएको छ ।’
भलिबल प्रतियोगितामा पनि भारतले सुरुमा नामावली पठाएको थिएन, तर गएराति ११ बजे भारतीय भलिबल टोली नेपाल आइपुगेको छ । कुस्ती खेलमा नेपालबाट ७ महिला र ७ पुरुषले सहभागिता जनाउँदैछन् । सबैभन्दा बढी बंगलादेशका खेलाडी हुनेछन् । बंगलादेशका १० पुरुष र १० महिला गरी २० जना खेलाडी आउने भएका छन् ।
कुस्ती प्रतियोगितामा खेल्ने नेपाली खेलाडीहरु प्रदेश २ र सुदूरपश्चिम प्रदेशबाट मात्रै चयन गरिएको छ । पाकिस्तानले पुरुषतर्फ मात्रै सहभागिता जनाउने भएको छ । पाकिस्तानका सात जना पुरुष खेलाडी आउने भएका छन् ।
भारतबाट १४ जना खेलाडी कुस्ती खेलमा सहभागी हुनेछन् । जसमध्ये ७ जना महिला र ७ जना पुरुष हुनेछन् । श्रीलंकाबाट पनि सात जना पुरुष र सात महिला गरी १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कुस्ती प्रतियोगिताका लागि २५ जना प्रशिक्षक र व्यवस्थापकसमेत जनकपुरधाम आउने छन् । यसमध्ये नेपालका सात जना छन् ।
नेपालको प्रमुख प्रशिक्षकमा व्रह्मदेव यादव, प्रशिक्षकमा मुमताज अली इद्रिसी, धर्मरानज प्रसाद यादव, शिवधारी यादव, राजेन्द्र चन्द छन् भने व्यवस्थापकमा साहिल अन्सारीलाई राखिएको छ । महिलातर्फको व्यवस्थापकको जिम्मेबारी जिन्नत अन्सारीलाई दिइएको छ । यस्तै भारतबाट ६ जना, बंगलादेशबाट ५ जना, पाकिस्तानबाट ३ जना र श्रीलंकाबाट ४ जना प्रशिक्षक र व्यवस्थापक आउने भएका छन् ।
प्रकाशित मितिः२०७६ मंसिर १२ बिहीबार
Comments