काठमाडौँ । क्यारेबियन प्रिमियर लिग सिपिएल अन्तर्गत बर्बाडोस ट्रीडेन्टसले ट्रीनबागो नाइट राइडर्सलाई पराजित गरेको छ । शुक्रबार बिहान भएको खेलमा बार्बाडोसले नाइट राइडर्सलाई ६३ रनले पराजित गरेको हो । बार्बाडोसले दिएको १९३ रनको लक्ष्य पछाएको नाइट राइडर्स १७.९ ओभरमा १२९ रन बनाउदा अल आउट भएको थियो ।
नाइट राइडर्सका लागि डेरेन ब्राभोले सर्वाभिक २८ रन बनाए भने कोलिन म्रुनोले २३, सुनिल नारानले १९, लेंडी सिमोन्स र डेनेश रामदीनले ११-११ रन बनाएका थिए ।
बार्बाडोसका बलर हिडेन वाल्शले ५ विकेट लिएका थिए । वाल्शले ४ ओभरमा १९ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै जेपी डुमिनीले २ विकेट लिए भने, रेमोन रेइफ़र, जेसन होल्डर, र ह्यारी ग्रुनेले एक एक विकेट लिएका थिए ।
यस अघि बार्बाडोसले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको थियो । बार्बाडोसका लागि जेपी डुमिनीले २० बलमा ६५ रनको आक्रामक पारी खेलेका थिए । डुमिनीले ७ छक्का र ४ चौका प्रहार गरेका थिए ।त्यस्तै जोह्न्सन चार्लिजले ३९ बलमा ५८ र जोनाथन कार्टरले ५१ रन बनाएका थिए ।
यो जितसँगै बार्बाडोस ७ खेलमा ६ अंकसहित चौथो स्थानमा उक्लिएको छ । बार्बाडोसले ७ खेलमा ३ जित र ४ हारसँगै ६ अंक बटुलेर चौथो स्थानमा छ भने नाइट राइडर्स ७ खेलमा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
बार्बाडोसबाट खेलेका सन्दीप लामिछाने भने त्रिकोणीय सिरिज खेल्न सिंगापुर पुगेका छन् । नेपालले आज जिम्बाबेविरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १० शुक्रबार
Comments