काठमाडौं । इंग्ल्याण्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपमा फुलहमले हडर्सफिल्ड टाउनलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा फुलहमले हडर्सफिल्डलाई उसैको मैदानमा २-१ गोल अन्तरले हराएको हो ।
फुलहमको जितमा एलेक्स्जेण्डर मिट्रोभिक र इभान काभालिरोले एक एक गोल गरे । हडर्सफिल्डका कार्लान ग्रान्टले एक गोल फर्काए ।
घरेलु मैदानमा पराजित भएसँगै हडर्सफिल्डले मुख्य प्रशिक्षक जान सिवेर्टलाई बर्खास्त गरेको छ । सात महिनामा मात्र एक जित निकालेपछि हडर्सफिल्डले प्रशिक्षक सिवेर्टलाई बर्खास्त गरेको हो ।
प्रिमियर लिगबाट घटुवा भएपछि प्रशिक्षक डेभिड वाग्नेरले राजिनामा दिएपछि क्लबले सिवेर्टलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन ३२ शनिबार
Comments