काठमाडौं । अहिले पुरुष क्रिकेटको विश्वकप चलिरहेको छ । खेलाडीले बनाएका रन र लिएका विकेटको रेकर्डको चर्चा चलिरहेका बेला अफ्रिकामा आयोजित एक टी-२० महिला क्रिकेटमा भने गजबको नयाँ रेकर्ड बनेको छ ।
क्विबुका महिला टी-ट्वान्टी टुर्नामेन्टअन्तर्गत मंगलबार भएको माली र रुवान्डाबीचको टी-२० महिला क्रिकेटमा माली ६ रन मात्र बनाएर अल आउट भएपछि कम रनमा आउट हुने नयाँ रेकर्ड बनेको छ ।
२० ओभरको खेलमा माली ६ रन मात्र बनाएर अल आउट भयो । नौ ओभर मात्र खेलेको मालीका लागि मरियाम समाकेले एक रन बनाउनु बाहेक अन्य सबै खेलाडी शुन्यमा आउट भएका थिए । मालीले अन्य ५ रन अतिरिक्त रनको रुपमा प्राप्त गरेको थियो ।
रुवान्डाकी जोसियाने न्यारिनकुंदिनेजाले २ ओभरमा दुवै ओभर मेडन फाल्दै ३ विकेट लिइन भने मार्केयुरेटी वुमिलियाले ३ ओभरमा ३ मेडनसहित कुनै रन नदिएर २ विकेट लिएकी थिइन । त्यस्तै बलर मेरी विमेनयिमानाले ३ ओभरमा २ मेडनसहित २ रन दिएर २ विकेट लिएकी थिइन् भने भेरोनीक्यू इरोहीले एक ओभर मेडन राख्दै एक विकेट लिएकी थिइन् ।
७ रनको लक्ष्य पाएको रुवान्डाले केबल ४ बल खेलेर लक्ष्य पुरा गरेको थियो । रुवान्डाले महिला टी-२० क्रिकेटको इतिहासमा सबैभन्दा धेरै ११६ बल बाँकी छँदै जित हासिल गरेको रेकर्ड समेत बनाएको छ ।
अन्तर्राष्ट्रिय टी-२० महिला क्रिकेटमा कुनै पनि टिमले दोहोरो अंकको रन बनाउन नसकेको यो पहिलो पटक हो । यसअघि कम रनको रेकर्ड चीनको महिला टिमको नाममा रहेको छ, जसले युएईविरुद्ध केबल १४ रन मात्र बनाएको थियो ।
प्रकाशित मितिः २०७६ असार ४ बुधबार
Comments