काठमाडौं । अफ्रिकामा आयोजित टी–२० महिला क्रिकेटमा मालीको महिला क्रिकेट टिम मात्र ६ रनमा अल आउट भएको छ । आईसीसीको मान्यताप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता क्विबुका महिला टी ट्वान्टी क्रिकेट प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ थालेको मालीको महिला क्रिकेट टिम रुवान्डासँग मात्र ९ ओभरमा ६ रनमा अल आउट भएको हो । यो प्रतिस्पर्धामा मालीको महिला टिमले सबैभन्दा कम स्कोरको रेकर्ड बनायो ।
नौ ओभरमा अलआउट भएको मालीले एक रन मात्र ब्याटिङमार्फत पायो भने बाँकी ५ रन अतिरिक्त रनको रुपमा पाएको थियो । मालीका ओपनर मरियम समाकेले मात्र १ रन जोडिन् भने अरु सबै शून्य रनमा आउट भए । मालीले प्राप्त गरेको ५ अतिरिक्त रन भने २ लेग बाई, २ बाई र १ वाइडमा थियो ।
मालीले दिएको ७ रनको विजय लक्ष्य रुवान्डाले एक विकेट पनि खर्च नगरी केबल ४ बलमा हासिल गर्यो । अर्थात १ सय १६ बल अगाडि खेल जितेको थियो । जुन विश्व कीर्तिमान समेत हो । यसअघि कम स्कोरको कीर्तिमान चीनले यूएईविरुद्ध थाइल्याण्डमा भएको टि–२० समासको १४ रनको रहेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ असार ४ बुधबार
Comments