काठमाडौँ । स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । गएराती सम्पन्न खेलमा लियोनेल मेसीको एक मात्र गोलले बार्सिलोना लेभान्टेलाई पराजित गर्दै लिगमा ३ खेल अघि नै बार्सिलोनाले ला लिगाको उपाधि जितेको हो ।
यो जितसँगै बार्सिलोनाले लगातार दोस्रो सिजन ला लिगाको उपाधि जितेको छ । दोस्रो हाफमा फिलिप कोटीन्होको ठाउमा सबस्टिच्युटको रुपमा मैदान छिरेका मेसीले खेलो ६२औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए ।
ला लिगामा बार्सिलोनाको ३५ खेलमा ८३ अंक छ भने दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडको ३५ खेलमा ७४ अंक रहेको छ । बार्सिलोनाले आगामी बुधबार लिभरपुलविरुद्ध हुने च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगको खेललाई ध्यानमा राख्दै मेसीलाई दोस्रो हाफमा मात्रै मैदानमा उतारेको थियो ।
मेसीले यस खेलमा गोल गर्दै सबस्टिच्युटको रुपमा मैदानमा आएर अहिलेसम्म २४ गोल गर्दै अहिलेसम्म कै सबै भन्दा बढी गोल गर्दै रेकर्ड समेत बनाएका छन् । त्यस्तै मेसीले व्यक्तिगत रुपमा ला लिगाको उपाधि १० पटक जित्दै धेरै ल लिगाको उपाधि जित्ने बार्सिलोनाको खेलाडी बनेका छन् । उनी पछि आन्द्रे इनेष्टाले ९ पटक ला लिगाको उपाधि जितेका छन् ।
ला लिगाको इतिहासमा बार्सिलोनाको यो २६औ ला लिगा उपाधि हो । बार्सिलोना अहिलेसम्म २५ पटक उपविजेता बनेको छ । ला लिगाको इतिहासमा रियल म्याड्रिडले अहिलेसम्म सबै भन्दा धेरै ३३ पटक ला लिगाको उपाधि जितेको छ भने २३ पटक उपविजेता बनेको छ ।
बार्सिलोनाले यस सिजनमा अझै दुई महत्वपूर्ण उपाधि जित्नसक्ने अवसर रहेको छ । बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ भने लिभरपुलसँग खेल्दै छ । त्यस्तै कोपा डेल रेमा पनि बार्सिलोना फाइनलमा पुगेको छ । कोपाको फाइनलमा बार्सिलोना भलेन्सियासँग खेल्ने छ ।
प्रकाशित मितिः २०७६ वैशाख १५ आइतबार
Comments