काठमाडौं । फ्रान्सको घरेलु लिग फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन पीएसजीले कीर्तिमानी जित निकालेको छ । शनिबार रातिको खेलमा पीएसजीले गुईनग्याम्पलाई ९–० को कीर्तिमानी जित निकालेको हो ।
आफ्नै घरेलु मैदानमा भएको सो खेलमा किलियन एम्बाप्पे र इडिन्सन काभानीले ह्याट्रिक पूरा गरे भने नेयमारले दुई तथा थोमस मुनियरले एक गोल गरेका थिए । खेलको ११ औं मिनेटमा नेयमारको गोलबाट सुरुवाती बनाएको पीएसजीले पहिलो हाफमा तीन गोल गर्यो भने दोस्रो हाफमा ६ गोल थपेको थियो ।
खेलको ३७ औं र ४५ औं मिनेटमा एम्बाप्पेले गोल गरेपछि पहिलो हाफमा पीएसजी ३–० ले अगाडि रहेको थियो । दोस्रो हाफमा पीएसजीले पाहुना टोली गुईनग्याम्पलाई ६ गोल थप्यो । उसका लागि काभानीले खेलको ५९ र ६६ औं मिनेटमा गोल गर्दै ५–० को अग्रता दिलाउँदा नेयमारले ६८ औं मिनेटमा गोल गर्दै ६–० को अग्रता दिलाए ।
फेरि काभानीदे ७५ औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गर्दा एम्बाप्पेले पनि ८० औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । यस्तै मुनियरले ८३ औं मिनेटमा गोल गरेपछि पीएसजीले ९–० को जित निकाल्यो ।
जितसंगै पीएसजीले फ्रेन्च कपमा ब्यहोरेको हारको बदलासमेत लिएको छ । केही दिनअघि भएको खेलमा गुईनग्याम्पसँग २–१ ले पराजित हुँदै पीएसजी फ्रेन्चबाट बाहिरिएको थियो । तर, घरेलु मैदानमा भएको खेलमा कीर्तिमानी अन्तरले पराजित गर्दै पीएसजीले हारको बदला लिन सफल भएको छ ।
यस्तै उसले कीर्तिमानी जित दर्ता गरेको छ । यसअघि पीएसजीले गत सिजनमा डिजोनलाई ८–० गोल अन्तरले पराजित गरेको थियो ।
यसैगरी जारी लिगमा अपराजित रहेको शीर्ष स्थानको पीएसजीले १९ खेलबाट ५३ अंक जोडेको छ । पीएसजीले दोस्रो स्थानको लिलीभन्दा १३ अंकले अग्रता बर्नाएको छ ।
प्रकाशित मितिः २०७५ माघ ६ आइतबार
Comments