काठमाडौं । स्पेनिस ला लिगाअन्र्तगत गए रातिको खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ । आफ्नो १६ औं खेल खेलेको लिग लिडर बार्सिलोनाले लेभान्टेलाई ५–० ले हराएर शीर्ष स्थान कायमै राखेको छ ।
लेभान्टेको घरेलु मैदानमा बार्सिलोनालाई जिताउन स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे भने लुइस स्वारेजले र जेरार्ड पीकेले समान एक–एक गोल गरे । मेस्सीले आफ्नो ३१ औं ह्याट्रिक पूरा गरे । खेलको ३५ औं मिनेटमा स्वारेजले गोल गर्दै सुरुवाती अग्रता दिलाउँदा मेस्सीले ४३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
पहिलो हाफ २–० गोलले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल थप्यो । उसका लागि मेस्सीले पहिलो हाफको सुरूआत मै गोल गरे । उनले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए भने ६० औं मिनेटमा फेरि गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।
खेलको ७६ औं मिनेटमा लेभान्टेका इरिक काबाकोले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटियो । त्यसपछि ०–४ ले अगाडि रहेको बार्सिलोनाका लागि पीकेले थप एक गोल गरे । उनले खेलको ८८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ५–० को जित दिलाए ।
जितसँगै बार्सिलोनाले ३४ अंकका साथ शीर्ष स्थान कायम राखेको छ । ऊ दोस्रो स्थानको सेभिल्लाभन्दा ३ अंकले अघि रहेको छ । दोस्रो स्थानको सेभिल्लासँग समान खेलबाट ३१ अंक रहेको छ भने तेस्रो स्थानको एथ्लेटिको मड्रिडसँग पनि समान ३१ अंक छ । ऊ गोल अन्तरको आधारमा पछि परेको छ ।
प्रकाशित मितिः २०७५ पुष २ सोमबार
Comments