काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । हिजो भएको समूह चरणको अन्तिम खेलमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको हो । दुबई क्रिकेट स्टेडियममा पाकिस्तानले दिएको १६३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले २९ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा रोहित शर्माले ५२ रनको अर्धशतकीय इनिङस खेले । यस्तै शिखर धवनले ४६ रन जोड्दा अम्बाती रायडु र दिनेश कार्तिकले अविजित ३१ , ३१ रन बनाए ।
पाकिस्तानका शादब खान र फाहिम आश्रफले १,१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४३ ओभर १ बलमा अलआउट हुँदै १६२ रनमा समेटिएको थियो । पाकिस्तानका लागि बाबर अजामले ४७ रन तथा शोएव मल्लिकले ४३ रन जोडेपनि अन्य ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेन । फहिम अस्राप २१ तथा मोहम्मद अमिर १८ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । भारतका भुवनेश्वर कुमार र केदार जादभले समान ३ विकेट लिए । जसप्रित बुमराहले २ तथा कुलदीप यादवले एक विकेट लिए ।
दुई जितसँगै भारत ४ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो । १ जित र १ हार बेहोरेको पाकिस्तान समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । पाकिस्तानले हङकङलाई पराजित गर्न सफल भएको थियो ।
प्रतियोगितामा बिहिबार समूह ‘बी’ को बंगलादेश र अफगानिस्तानबीच खेल हुनेछ । विजयी हुने टोली समूह विजेताको रुपमा अघि बढ्नेछ । पराजित हुने टोलीले सुपर लिगमा स्थान बनाउने छ । सुपर लिगमा प्रवेश गरेका चार टोलीले फेरि एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मितिः २०७५ असोज बिहिबार
Comments