भक्तपुर २६ साउन । फुटबल खेल चलिरहँदा एक हुल्याहा दर्शकले मैदानमा सहायक रेफ्रीलाई कपले हिर्काएर ढालेपछि केही समय खेल अवरुद्ध हुन पुगेको छ । युरोपा लिग फुटबलको तेस्रो चरणको छनोट खेलका क्रममा एक हुल्याहा दर्शकले सहायक रेफ्रीलाई कपले हिर्काएपछि करिब आधा घन्टा खेल अवरुद्ध हुन पुगेको हो ।
बिहीबार राति अस्ट्रियाको ग्राजमा भएको स्ट्रुम ग्राज र एईके लरेन्सबीचको खेलका क्रममा यस्तो घटना भएको हो ।खेलको ७८औं मिनेटमा एक समर्थकले मैदानमा फालेको कपले लागेर सहायक रेफ्री फ्रेड्रिक क्लिभरको टाउकोबाट रगत बगेको थियो ।
घरेलु क्लब ग्राजविरुद्घ साइप्रसको क्लब एईके लरेन्सले दोस्रो गोल गरेको केही समयपछि नै ती समर्थकले सहायक रेफ्री क्लिभरलाई कपले प्रहार गरेका थिए । निकै जोडले फालिएको उक्त कपले लागेपछि सहायक रेफ्री क्लिभर मैदानमा ढलेका थिए ।
त्यसपछि उनलाई मैदानबाहिर ल्याएर उपचार गरिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा एकजना समर्थकलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । रंगशालामा राखिएको सीसीटीभीमा कैद भएको दृश्यका आधारमा ती समर्थकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एजेन्सी
Comments