काठमाडौं ९ साउन । आगामी सेप्टेम्वरमा युएईमा हुने एसिया कप २०१८ को खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेल तालिकाको समूह ए मा पाकिस्तान, भारत र एसिया कप छनोट प्रतियोगिताको विजेता रहनेछ । त्यस्तै, समूह बि मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
सेप्टेम्वर १५ देखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कूल ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाबीच हुने छनोट प्रतियोगिताबाट विजेताले भारत र पाकिस्तान समूहमा रहने छ ।
दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् । समूह चरणका खेलहरु सेप्टेम्वर १५ देखि २० तथा सुपर ४ को खेलहरु सेप्टेम्वर २१ देखि २६ सम्म हुनेछ । फाइनल खेल सेप्टेम्वर २८ मा हुनेछ ।
प्रतियोगिताका खेलहरु दुबई र अबुधावीमा हुनेछन् । सन् २०१६ मा ट्वेन्टी–ट्वेन्टी फर्म्याटमा भएको एसिया कप यसपटक एक दिवसीय फर्म्याटमा हुँदैछ । एसिया कपको साबिक विजेता भारत हो ।
Comments