काठमाडौं, १० मंसिर । आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले हराएको छ । थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चीनलाई १८.२ ओभरमा अलआउट गराउँदै ५२ रनमा हराउँदै दोस्रो विजय प्राप्त गरेको हो ।
चीनका लागि हान लिलिले १५, कोयायुन झौले १० र जाङ याङलिङले ९ रन बनाएपनि अन्य खेलाडीले राम्रो खेल्न सकेनन् । नेपालका लागि जित दिलाउन कप्तान रुविना क्षेत्री र सब्नम राईले समान ३–३ विकेट लिए । त्यस्तै, सीता राना मगरले २ र करुणा भण्डारीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १०२ रन बनाएको थियो । प्रतियोगिताकै कमजोर टोली चीनविरुद्ध नेपाली ब्याट्वुमनहरुले खराब ब्याटिङ गरेका थिए । नेपालले मात्र २० रन जोड्दा दुई ओपनर सीता राना मगर र ज्योती पाण्डेलाई गुमाएको थियो । सीता ४ रनमा आउट भइन् भने ज्योतीले ९ रन जोडिन् । तर, मध्यक्रममा ब्याटिङ गर्न आएकी काजल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन बनाएर नेपालको पारी उकासेका थिए ।
यस्तै नेपालकी कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोड्दा करुणा भण्डारी २ रनमा अविजित रहिन् । त्यसबाहेक नेपालकी सरिता मगरले ८, इन्दु बर्मा र रिता कुमारी कनुजियाले समान ६–६ रन जोड्दा रोमा थापा ३ रनमा पेभेलियन फर्किइन् । चीनकी झाङ सियानसीले तीन तथा लि होई, मिंग्यु झू र हान लिलीले समान एक एक विकेट लिए ।
प्रतियोगितमा नेपालको २ जित, २ बराबर र १ हार बेहोरेको नेपाल विश्व कप क्रिकेट अन्तर्गत एसिया छनोटको शीर्ष २ मा पर्न असफल भएको छ । नेपालको ५ खेलबाट ६ अंक भएको छ । यससँगै ग्लोबल छनोट हुने नेपालको सम्भावना पनि सकिएको छ । वर्षाका कारण सुरुका २ खेलमा अंक बाड्नु र संयुक्त अरब इमिरेट्स (युएई) सँगको हार नै नेपालका लागि महंगो पर्यो ।
नेपालको विश्व कप क्रिकेटको ग्लोबल छनोटमा पुग्ने सपना अधुरै
0
Share.
Comments