काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीको टी–२० वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा अलराउन्डतर्फ दीपेन्द्र नवौं स्थानमा यथावत रहेका हुन् । उनले १५२ रेटिङ प्वाइन्ट प्राप्त गरेका छन् ।
अलराउण्डरतर्फ वरीयताको शीर्ष स्थानमा २६७ रेटिङ प्वाइन्टका अफगानिस्तानका मोहम्मद नाबी छन् । यस्तै, ब्याटिङतर्फको वरीयतामा कुशल भुर्तेल ३८ औं स्थानमा रहँदा दीपेन्द्र ४२ औं र आसिफ शेख ९८ औं स्थानमा छन् । उनीहरुको रेटिङ प्वाइन्ट क्रमशः ५०३,४९८ र ३७४ छ ।
ब्याटिङतर्फको शीर्ष स्थानमा ८१८ रेटिङ प्वाइन्टका साथ पाकिस्तानका कप्तान बाबर आजम छन् । बलिङतर्फको वरीयतामा नेपालका कप्तान सन्दीप लामिछाने ४० औं स्थानमा रहँदा अविनास बोहरा ९३ औं स्थानमा झरेका छन् । उनीहरुको रेटिङ प्वाइन्ट ४९० र ३९३ छ ।
अस्ट्रेलियाका जोस हेजरउड ९९२ रेटिङ प्वाइन्टका साथ बलिङतर्फको वरीयतामा शीर्ष स्थानमा छन् ।
प्रकाशित मितिः २०७९ असार १५ बुधबार
Comments