काठमाडौं । मारिको हिलले ४५ रन बनाएपछि हङकङले आज एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपमा नेपाललाई ७ विकेटले हराएको छ । जितसँगै हङकङले समूह ‘बी’बाट सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
नेपालको यो समूहमा अन्तिम खेल हो । हङकङले अझै कुवेतविरुद्ध खेल्न बाँकी छ । नेपाल र हङकङको समान ६ अंक छ । तर, रनरेटमा हङकङ शीर्ष स्थानमा छ ।तीन अंक जोडेको कुवेत तेस्रो स्थानमा छ । एक अंक जोडेको बहराइन चौथो र अंकविहीन भुटान पाँचौँ स्थानमा छ । अन्तिम खेलमा भुटानले बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो । ११० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि रुविनाले सबैभन्दा धेरै अविजित ३२ रन बनाइन् । उनले ३६ बलमा चार चौका प्रहार गरिन् । रुविनाले अप्सरी बेगमसँग सातौँ विकेटका लागि ४४ रनको अविजित साझेदारी गरिन् । अप्सरीले १६ बलमा दुई चौकासहित अविजित २२ रन बनाइन् ।
ओपनर विन्दु रावलले २३, सीता रानामगरले नौ, ममता चौधरीले सात, कविता जोशीले चार रन बनाए । काजल श्रेष्ठले एक रन बनाउँदा इन्दु वर्माले रनको खाता खोल्न सकिनन् ।हङकङकी बेट्टी चेनले दुई विकेट लिइन् । मार्यम बिबी र एलिसा हबार्डले एक/एक विकेट लिए ।
११० रनको लक्ष्य पूरा गर्ने क्रममा हङकङकी मारिको हिलले ४५ रन बनाइन् । उनले ३२ बलमा नौ चौका प्रहार गरिन् । नतशा माइल्सले अपिवजित २८ रन बनाइन् । कप्तान क्यारी चेनले १७ रन जोडिन् । ओपनर बेला पुनले नौ र शानजीन शाहजद चार रनमा अविजित रहिन् ।
नेपालकी सीता रानामगरले एक विकेट लिइन् । नेपालले यसअघि भुटानलाई ५० र कुवेतलाई २५ रन तथा बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । हङकङले बहराइनलाई ८ विकेट र भुटानलाई १४ रनले हराएको थियो ।
प्रकाशित मितिः २०७९ असार ०७ मंगलबार
Comments