काठमाडौं । मछिन्द्र फुटबल क्लबका फरवार्ड विमल घर्तीमगरले म्यान अफ दी म्याच घाइते अवार्ड सहकर्मी मनिष डाँगीलाई समर्पण गरेका छन् । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबलाई २–० ले हराएको खेलमा विमल म्यान अफ दी म्याच चुनिएका थिए ।
सोही खेलको ६५ औं मिनेटमा बल नियन्त्रणमा लिने प्रयासमा विपक्षी खेलाडी यान्निक केट्चासँग ठोक्किदा मनिष टाउकोमा चोट लागेर मैदानमा ढलेका थिए । केहि समय मैदानमा अचेत भएर ढलेका मनिषलाई थप उचारका लागि दशरथ रंगशालाका नजिकको ब्लुक्रस अस्पताल लगिएको थियो । अहिले उनको अवस्था स्थिर रहेको र सिटी स्क्यानको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
खेलपछि विमलले मनीष घाइते भएकोमा दुःख व्यक्त गरे । ‘ जुन घटना घट्यो भयो । त्यसले के बोलु के नबोलु जस्तो भएको छ । खेल जित्दा खुसी पनि छु । अर्कोतर्फ मनिष चोटग्रस्त भए त्यसमा भने दुःखी छु ,’ उनले भने,‘ मछिन्द्रको मात्र होइन मनिष देशको उदाउँदा खेलाडी घाइते भएका छन् । अहिले ठिकै छ भन्ने सुनेको छु । मनिष भाई लाई गेट वेल सुन भन्न चाहन्छु । र यो अवार्ड डेडिकेट पनि भाईलाई नै गर्न चाहन्छु ।’
मछिन्द्रले च्यासललाई २–० ले पराजित गर्दै लिगको १०औं खेलसम्म अपराजित रहन सफल भएको छ । मछिन्द्रको जितमा अर्को गोल सुनिल बलले गरेका थिए । यो जितसँगै मछिन्द्रको उपाधि होड थप मजवुत बनेको छ । जितसँगै अपराजित रहेको मछिन्द्रको १० खेलबाट २६ अंक पुगेको छ । मछिन्द्रसँगको हारसँगै च्यासललाई रेलिगेसनको थप दबाव बढेको छ । च्यासलको १० खेलबाट ५ अंक जोडेर पुछारमा छ ।
प्रकाशित मितिः २०७८ माघ २९ शनिबार
Comments