काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा सातौं चरणका खेल समाप्त भएका छन् र यससँगै लिगले पाएको छ, विन्टर च्याम्पियन ।
यो उपलब्धीको सबैभन्दा ठूलो पुरस्कार रहेको छ, अब मछिन्द्रले एएफसी कपको छनोट खेल्ने छ । यसका लागि मछिन्द्रले पुलिसलाई हराएको थियो ।
यसअघि मनाङ मर्स्याङ्दीले ब्रिगेड ब्वाइजलाई हराएर मछिन्द्रमाथि दबाब सिर्जना गरेको थियो ।
विन्टर च्याम्पियनको निर्णय भए पनि लिगको वास्तविक विजेताका लागि अझै कुर्नु पर्नेछ, तर यसमा मछिन्द्रको बाटो भने सजिलो देखिएको छ ।
मछिन्द्रले प्रतियोगिताको ड्र मा सुरुमै कठिन प्रतिद्वन्द्वी पाएको थियो । मछिन्द्रले अहिलेसम्म शीर्ष पाँँचमा रहेका मनाङ, संकटा, आर्मी र हिमालयन शेर्पाविरुद्ध खेलिसकेको छ ।
लिगमा अझै तीन टिम अपराजित छन्, मछिन्द्रसँगै संकटा र आर्मी । सातौं चरण टुंगिदा पनि फ्रेन्ड्स भने एक्लो जितविहीन टिम रहेको छ ।
रेलिगेसन क्षेत्रमा फेरि एकपल्ट च्यासल र फ्रेन्ड्स नै रहेका छन् । पाँचौं चरणयता यी टिम अन्तिम दुई स्थानमा छन् र रेलिगेसनबाट बच्न संघर्ष गरिरहेका छन् ।
लिग आफ्नो मध्य भागमा आइपुग्दा अहिलेसम्म १ सय ४० पहेँलो र एक रातो कार्ड पुगेको छ । सातौं चरणमा खालि १४ पहेँलो कार्ड देखाइएको छ र यो सात चरणमा अहिलेसम्मकै सबैभन्दा कम हो ।
लिगको पाँचौं चरणमा सर्वाधिक २८ पहेँलो कार्ड देखाइएको थियो । रातो कार्ड भने अहिलेसम्म एकैमा सीमित छ ।
प्रकाशित मितिः २०७८ पुस २० मंगलबार
Comments