काठमाडौं । म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा हार ब्यहोरेको छ । सोमबार राति युनाईटेड घरेलु मैदान ओल्डट्राफोर्डमा उल्भ्ससँग १–० ले पराजित बनेको हो ।
उल्भ्सले खेलको अन्तिम समयमा गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारेको थियो । पाहुना टोलीको जितमा जोआओ मौटिन्होले ८२ औं मिनेटमा गोल गरेका थिए ।
युनाईटेडको अन्तरिम प्रशिक्षकको रुपमा राल्फ रंगनिकको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओल्डट्राफोर्डमा जित निकालेको हो ।
उल्भ्सका गोलकपिर जोसे साले इन्जुरी समयमा उत्कृष्ट बचाउ गर्दै पाहुना टोलीलाई अंक दिलाए । ब्रुनो फर्नान्डेजको फ्रि–किकलाई उनले उत्कृष्ट ढंगले बचाउ गरेका थिए ।
युनाईटेड शीर्ष स्थानमा म्यानचेस्टर सिटी भन्दा २२ अंकले पछि परेको छ । युनाईटेड १९ खेलबाट ३१ अंक सहित तालिकाको सातौं स्थानमा छ । उल्भ्स २८ अंक सहित तालिकाको आठौं स्थानमा उक्लिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ पुस २० मंगलबार
Comments