काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गतको बुधबार बिहान भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आरबी लेइपजिगसँग ३–२ को जित हात पारेको छ। पीएसजीको जितमा लियोनेल मेस्सीले दुई र कायलिन एमबाप्पेले एक गोल गरे।
खेलका नवौं मिनेटमा पीएसजीका एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, २८ औं मिनेटमा आरबी लेइपजिगका आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ५७ औं मिनेटमा आरबी लेइपजिगका नेर्डी मुकिइलेले गोल थप्दै टोलीलाई अग्रता दिलाएका थिए । २–१ ले पछि परेको अवस्थामा मेस्सीले खेलको ६७ औं मिनेटमा र पेनाल्टीमार्फत ७४ औं मिनेटमा गोल गर्दै पीएसजीलाई रोमाञ्चक जित दिलाए।
खेलको इन्ज्युरी समयमा पीएसजीले पेनाल्टी पाए पनि कायलिन एमबाप्पेले त्यसलाई गोलमा परिणत गर्न भने सकेनन्। यससँगै पीएसजी तीन खेलबाट ७ अंक हासिल गर्दै समूह ए को शीर्षस्थानमा छ।
प्रकाशित मितिः २०७८ कार्तिक ०३ बुधबार
Comments