काठमाडौं । अष्ट्रेलियाले जोखिममा रहेका अफगानिस्तान महिला फुटबल टिमका खेलाडी, स्टाफसहित ७७ जनाको उद्धार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र खेलाडीको संगठन फिप्रोले अपीलपछि अष्ट्रेलिया सरकारले महिला खेलाडीको उद्धार गरेको हो ।
अफगानिस्तानका पूर्व कप्तान खालिदा पोपालले समेत महिला खेलाडीहरु निकै डरमा रहेको र उद्धारका लागि अपील गरेकी थिइन् । फिप्रोले एक विज्ञप्ति निकाल्दै अष्ट्रेलिया सरकारप्रति आभार व्यक्त गरेको छ ।
विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका महिला खेलाडीहरु लुकेर बसेका थिए । तालिबानको इस्लामिक कानूनमा महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको छ । महिलाले शरीर ढाक्ने बुर्खा लगाउनु पर्ने तथा १० वर्ष माथिका छात्राहरु विद्यालय जान नपाउने नियम रहेको छ ।
विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर एक अफगानी युवा फुटबल खेलाडीको मृत्यु भएको थियो । उडिरहेको विमानबाट खसेर १९ वर्षीय फुटबलर जाकी अनवरीको मृत्यु भएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र ९ बुधबार
Comments