काठमाडौं । युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज सहयात्री जोस फोन्टेले फ्रान्सेली च्याम्पियन लिल आउन आग्रह गरेका छन् । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) मा दुई वर्षको लागि अनुबन्ध भएसँगै लिलका डिफेन्डर जोस फोन्टेले अन्तर्राष्ट्रिय सहयात्रीलाई आफ्नो क्लब आउन आग्रह गरेका हुन् । मेस्सीलाई पीएसजीले गत मंगलबार क्लबमा सार्वजनिक गरेको थियो । उनले वार्षिक २५ मिलियन पाउन्ड र बोनस पाउनेछन् ।
३७ वर्षीय फोन्टेको लिल आउन गरिएको दैनिक आग्रहलाई रोनाल्डोले स्वीकार गरेका छैनन् । फोन्टेको हरेक आग्रहमा रोनाल्डोले हाँसेको मात्रै प्रतिक्रिया दिएको बताएका छन् । तर, फोन्टेले रोनाल्डोलाई लगातार आग्रह गरिरहेको बताएका छन् । उनले लियोनेल मेस्सी र पीएसजीलाई लिग वानमा हराउँदै उपाधि जित्न चाहेको बताएका छन् ।
लिलले गत सिजन पीएसजीको दवदवा तोड्दै लिग वान च्याम्पियन बन्न सफल भएको थियो । यसपटक लिललाई उपाधि जोगाउन गाह्रो हुनेछ । किनभने खेलाडी सरुवा बजारमा यो सिजन आक्रामक बनेको पीएसजीले मेस्सीसँगै, सर्जियो रामोस, जियानलुइजी डोन्नररुम्मा, अचरफ हाकिमी र जर्जिनो वाइनाल्डमलाई अनुबन्ध गरिसकेको छ ।
मेस्सीको आगमनसँगै फ्रान्सेली लिग वानको इतिहासकै सबैभन्दा बलियो अग्रपङ्ति बनेको छ । उनले पीएसजीको अग्रपङ्तिको कल्पना गर्दै उनीहरुलाई कसरी सामना गर्नेबारे सोचिसकेका छन् । ‘हामी मेस्सी, नेयमार र एमबाप्पेविरुद्ध खेल्दैछौं । लिग वान यो सिजन निकै रोचक हुनेछ । च्याम्पियन लिलले ३१ अगस्टमा पीएसजीको सामना गर्दैछ । उक्त खेलमा यि तीन मेस्सी, एमबाप्पे र नेयमारले अग्रपङ्ति सम्हाल्ने सम्भावना छ ।
प्रकाशित मितिः २०७८ साउन २९ शुक्रबार
Comments