काठमाडौं । नेपाली महिला पौडीवाज गौरीका सिंहको ओलम्पिक यात्रा पहिलो चरणमा नै सकिएको छ । महिला एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धामा उत्रिएकी गौरीका तेस्रो स्थानमा रहँदै हिट चरण सकेकी छिन ।
पहिलो हिटमा नै प्रतिस्पर्धा गरेकी गौरीकाले एक मिनेट शुन्य दशमलव ११ सेकेण्डमा दुरी पुरा गरिन । जसका कारण उनले आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानमा पनि सुधार गर्न सकिनन् । उनले १३ औं सागमा बनाएको ५८.१३ सेकेण्डको रेकर्डलाई पनि पछ्याउन सकिनन् ।
उनी नाइजेरीया र म्यानमारकी खेलाडी भन्दा पछाडी रहिन । नाइजेरीयाकी एबियोलाले ५९.७४ सेकेण्डमा दुरी पुरा गरिन भने म्यानमारकी एन्डेलाले एक मिनेट शुन्य दशमलव एक सेकेण्डमा दुरी पुरा गरीन ।
जारी टोकियो ओलम्पिकमा पौडीमा नै एलेक्स शाहले राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनी आफ्नो हिट चरणमा पहिलो भएपनि अर्को चरणमा पुग्न सकेका थिएनन् । यता सुटिङकी खेलाडी कल्पना परियारले ब्यक्तिगत प्रदर्शनमा सुधार गरेकी थिइन ।
अब टोकियोमा नेपालबाट एथ्लेटिक्सको मात्र प्रतिस्पर्धा बाँकी रहेको छ । यसमा नेपालबाट सरस्वती चौधरीले एक सय मिटरमा प्रतिस्पर्धागर्नेछिन । उनको प्रतिस्पर्धा जुलाई ३० मा रहेको छ ।
प्रकाशित मितिः २०७८ साउन १३ बुधबार
Comments