काठमाडौं । ओलम्पिकमा सहभागिता जनाएको ९७ बर्षमा फिलिपिन्सले पहिलो पटक ओलम्पिक स्वर्ण जितेको छ । उसका लागि भारत्तोलन खेलाडी हिडिलेन डियाजले ऐतिहासिक स्वर्ण जित्न सफल भइन ।
फिलिपिन्सको एयरफोर्समा सर्भिस गर्दै आएकी डियाज कोभिडका कारण पछिल्लो पटक मलेसियामा बस्दै आएकी थिइन । उनले महिला ५५ केजी तौल समुहमा स्वर्ण जितेपछि स्टेजमा नै भावुक बनेकी थिइन ।
३० बर्षे डियाज आफ्नो तौलको अन्तिम प्रतिस्पर्धामा स्वर्ण जित्न सफल भइन । साथै उनले ब्यक्तिगत प्रदर्शनमा पनि सुधार गर्दै कीर्तिमान बनाइन ।
सन् २०१६ मा रियो ओलम्पिकमा ५३ केजी तौल समुहमा रजत पदक जितेकी थिइन । तर टोकियो ओलम्पिकमा भने उनले त्यसमा पनि सुधार गर्दै अझ उत्कृष्ट प्रदर्शन गरिन ।
उनले स्वर्ण जितेसँगै फिलिपिन्स सरकारले उनलाई चार लाख ७७ हजार पाउण्ड पुरस्कार दिने घोषणा गरेको छ । त्यो भनेको फिलिपिन्स रकम ३३ मिलियन पेसो रहेको छ ।
यस्तै फिलिपिन्स स्पोर्टस कमिसनले पनि उनलाई १० मिलियन पेसो दिने निर्णय गरेको छ । फिलिपिन्सका लागि स्वर्ण जित्ने उनी सन् १९२४ पछि की पहिलो खेलाडी हुन । यसका साथै उनी फिलिपिन्सका लागि कुल पदक जित्नेमा ११ औं खेलाडी बनेकी छिन ।
प्रकाशित मितिः २०७८ साउन १२ मंगलबार
Comments