काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । तर, ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १–१ को बराबरीमा फर्काए । बाँकी समयमा गोल हुन नसकेपछि खेल बराबरीमा सकियो ।
निर्धारित ९० मिनेटको समय १–१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे भने आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए ।
यस्तै, इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए ।
इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २८ सोमबार
Comments