काठमाडौं । कोपा अमेरिकाको महाभिडन्त आईतबार बिहान ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा हुने भिडन्तले दक्षिण अमेरिकी फुटबलको नयाँ शक्ति राष्ट्रको टुङ्गो लगाउनेछ ।
दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र १ सय ११ पटक एक आपसमा भिडेका छन् । जसमा अर्जेन्टिनाल ४६ खेलमा जित दर्ता गरेको छ । ब्राजिल मात्र ४० खेलमा विजयी छ । बाँकी २५ खेल बराबरीमा सकिएको तथ्याङ्ग छ ।
तर अन्तिम पटक मुख्य प्रतियोगितामा दुवै टिम न् २०१९ को कोपा अमेरिकाको सेमिफाईनलमा भिडेका थिए । जहाँ ब्राजिल २–० ले विजयी बनेको थियो ।
हेड टू हेडका आधारमा अर्जेन्टिना बलियो देखिन्छ । तर कोपा जस्तो ठुलो खेल स्पर्धामा ब्राजिलको ईतिहास बलियो छ । कोपाका पछिल्ला ५ भिडन्तमा अर्जेन्टिनाले ब्राजिललाई हराउन सकेको छैन ।
कोपा अमेरिकाको ईतिहासमा अर्जेन्टिनामाथि ब्राजिल सधै हाबी हुँदै आएको देखिन्छ । दक्षिण अमेरिकी फुटबलको मुख्य प्रतियोगिताको पछिल्ला ५ भेटमा ब्राजिलले अर्जेन्टिनालाई हराएको ईतिहास छ ।
यहाँ दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्रको कोपा अमेरिकाको पछिल्ला ५ भेटको नतिजालाई प्रस्तुत गरिएको छ ।
कोपा अमेरिका २०१९ :
दुवै टिम कोपा अमेरिकाको सन् २०१९ को संस्करणमा भेटेका थिए । सेमिफाईनलको सो खेलमा ब्राजिलले अर्जेन्टिनामाथि २–० को जित निकालेको थियो । ब्राजिलको जितमा रोबर्टो फिर्मिन्हो र ग्याब्रियल जिससले गोल गरेका थिए ।
कोपा अमेरिका २००७ :
सन् २००७ को कोपा अमेरिकाको फाईनलमा दुवै टिम भिडेका थिए । सो खेलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । ब्राजिललाई उपाधि जिताउन जुलियो बापिस्टा र ड्यानी आल्भेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोबर्टो अयालाले एक गोल फर्काएका थिए ।
कोपा अमेरिका २००४ :
सन् १९९ को कोपा अमेरिकामा पराजित बनेको ५ वर्षपछि अर्जेन्टिनाले ब्राजिलसंग सन् २००४ को कोपाको फाईनलमा प्रतिस्पर्धा गरेको थियो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । उपाधिको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । जसमा ब्राजिल ४–२ ले विजयी बनेको थियो ।
कोपा अमेरिका १९९९ :
दक्षिण अमेरिकी प्रतिद्धन्दी सन् १९९९ को कोपाको क्वार्टरफाईनलमा भिडेका थिए । सो खेल ब्राजिलले २–१ ले जितेको थियो । ब्राजिलका लागि रोनाल्डो र रिभाल्डोले गोल गरेका थिए । अर्जेन्टिनाका लागि जुआन पाब्लो सोरिनले एक गोल फर्काएका थिए ।
कोपा १९९५ :
कोपा अमेरिका सन् १९९५ को क्वार्टरफाईनलमा ब्राजिल र अर्जेन्टिनाको भेट भएको थियो । ब्राजिल खेलमा फर्कदै निर्धारित समयको खेलमा २–२ को बराबरी गरेको थियो । अन्तिममा सेमिफाईनलको तय टाइब्रेकरबाट गरिएको थियो । जसमा ब्राजिलले ४–२ ले बाजी मारेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २६ शनिबार
Comments